News बिर्तामोड प्रथम किरात गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

फिदिम । साँघुरो जित निकाल्दै झापाको बिर्तामोड युनाइटेड एफसी फिदिममा जारी प्रथम किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड सेमिफाइनल पुग्ने दोस्रो टोली हो ।

आइतबार भएको खेलमा इलामको रेडहर्ष एफसीलाई स्तब्ध बनाउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । फिदिम माविको खेलमैदानमा भएको खेलमा झापाले इलाममाथि १-० गोलको साँघुरो जित निकालेको थियो ।

झापाका लागि खेलको २२औँ मिनेटमा श्याम मुर्मूले गरेको गोल नै निर्णायक बन्यो । दायाँ साइडबाट रोमन भुजेलले इलामको पेनाल्टी एरियामा मिलाइदिएको पासमा श्याम मुर्मूले गोल गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भए ।

उद्घाटन खेलमा आयोजक पाँचथर एफसीले तेह्रथुमको मितेरी एफसीमाथि जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो । भोलि (सोमबार) डिएफसी मोरङले भारत दार्जीलिङको युनाइटेड एफसीसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।

मंसिर २३ गते हुने फाइनल खेलको विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँ र ट्रफी पाउने छ ।

Post Comments