News किरात गोल्डकपमा आज आयोजक र मोरङ भिड्दै
गोलनेपाल

पाँचथर । फिदिममा जारी प्रथम किरात गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजक पाँचथर एफसीले मोरङको डाँगीहाट एफसीको सामना गर्दैछ ।

आज फिदिम माविको मैदानमा दिउँसो ३ बजे गोल्डकपको फाइनल प्रवेशका लागि दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् । आयोजकले तेह्रथुमको मितेरी एफसीलाई २-० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

तनावग्रस्त खेलमा दोस्रो हाफको १३औँ मिनेटमा आयोजकका शुकराज राईले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, खेलको इन्जुरी समयमा पाएको फ्रिकिकमार्फत विशाल भण्डारीले थप गोल गरेपछि आयोजकको अग्रता दोब्बर भएको थियो ।

यसैगरी, मोरङले पाहुना टोली भारत दार्जीलिङको युनाइटेड एफसीलाई ६-३ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

आजको विजेता टोली फाइनल पुग्दै कम्तिमा २ लाख २ हजार २२२ रुपैयाँ सुरक्षित गर्नेछ । गोल्डकपको विजेता टोलीले नगद ४ लाख ४ हजार ४४४ र ट्रफी पाउने छ ।
 
 
Post Comments