News चक्रघट्टीलाई प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको उपाधि
गोलनेपाल

फुङलिङ । यहाँ सम्पन्न प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि चक्रघट्टी फुटबल क्लब, सुनसरीले जितेको छ । बुधबार फाइनलमा सगरमाथा युथ क्लब, मोरङलाई टाईब्रेकरमा हराउँदै चक्रघट्टी च्याम्पियन बनेको हो ।

त्यसअघि भानुजन माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको ३३औं मिनटमा सुशिल राईको गोलबाट अग्रता बनाएको सगरमाथाले त्यो अग्रता दोस्रो हाफमा गुमाउन पुग्यो । ५४औं मिनटमा संजय प्रधानले चक्रघट्टीका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने चक्रघट्टीले ४–३ को नतिजा निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो । विजेता बनेको चक्रघट्टीले उपाधिसहित नगद ३ लाख २८० रुपैयाँ हात पार्यो भने उपविजेता सगरमाथाले १ लाख ५१ हजार ८० रुपैयाँमा चित्त बुझायो ।

त्यस्तै सगरमाथाका सुशिल राई फाइनल खेलको म्यान अफ द म्याच चुनिए । चक्रघट्टीका असिब राई उत्कृष्ट गोलरक्षक बन्दा आयोजक कञ्चनजंघा फङलिङ क्लबका अध्इक्ष शिशिर राई उदीयमान खेलाडी घोषित भए । यी विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र मेडल हात पारे ।

सर्वाधिक गोलकर्ताको पुरस्कार चक्रघट्टीका आकाश राईले हात पारे । उनले त्यसवापत नगद ६ हजार र मेडल प्राप्त गरे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चक्रघट्टी कै संजय प्रधान घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार र मेडल हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य उर्मिला थेबे लगायतले पुरस्कृत गरे । चासोक तङनाम पर्वको अवसर पारी कञ्चनजंघा फुङलिङ क्लब, फुङलिङ–४, ताप्लेजुङको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments