
बेसीशहर । मोफसल कै पुरानो र प्रतिष्ठित मध्ये एक त्रिवेणी कपको ३१औं संस्करण बिहीबारदेखि लमजुङ जिल्लाको बेशीसहरमा भव्यताका साथ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुन्दरबजार फुटबल क्लबले जित निकाल्दै विजयी शुरुवात गर्यो ।
त्रिवेणी रंगशालामा भएको खेलमा सुन्दरबजारले आयोजक त्रिवेणी युथ क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्यो । सुन्दरबजारका लागि दिपेश घले, सरोज तामाङ र एरोन थापाले गोल गरे । पराजित त्रिवेणीका लागि टंक गुरुङले एक मात्र गोल फर्काए ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद १–१ पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।