News चौथो न्यु राईज कप शुरु, साविक विजेता नवयुवाको उत्कृष्ट शुरुवात
सुरज राना मगर

बभनी । शुक्रबारदेखि शुरु स्व. रन बहादुर भण्डारी स्मृति चौथो न्यु राईज कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगितामा साविक विजेता नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले विजयी शुरुवात गरेको छ ।

तिलोत्तमा–१३ स्थित बभनी भूपू सैनिक आधारभुत विधालयको खेलमैदानमा भएको उद्घाटन खेलमा नवयुवाले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो ।

नवयुवाको जितमा बिशाल सुनारले ह्याट्रिक गरे । त्यस्तै थप एक गोल सरोज दर्लामीले गरे । खेलको म्यान अफ द म्याच पनि नवयुवाका ह्याट्रिककर्ता बिशाल सुनार घोषित भए । यो जितसँगै नवयुवा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा वार्ड नम्बर १३ का वार्ड अध्यक्ष नारायण ढकाल र आयोजक क्लबका अध्यक्ष बिष्णु प्रसाद पराजुली लगायतका अतिथीहरुले संयुक्त रुप्मा गरेका थिए ।

प्रतियोगिता अन्तर्गत पुस २८ गते दुई खेलहरु हुनेछन् । दिनको १२ः३० बजे हुने पहिलो खेलमा जे.वाई.सी., सखुवानी र डि.वाई.सी., सियारी भिड्ने छन् भने २ः३० बजे हुने दोस्रो खेलमा शुद्धोधन खेलकुद विकास समिति, शुद्धोधन र न्यु सिर्जना युवा क्लब, करौजिया भिड्ने खेल संयोजक सुमित मल्लाहले जानकारी दिए ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीको आयोजना, चमेली भण्डारीको मुख्य प्रायोजन तथा भण्डारी ब्रदर्शको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने संयोजक मल्लाहले बताए ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ ६ गतेका दिन हुनेछ ।

Post Comments