News डिवाइसी र न्यु सिर्जना क्वाटरफाइनलमा
सुरज राना मगर

बभनी । डिवाइसी, सियारी र न्यु सिजृना युथ क्लब, करौजिया यहाँ जारी स्व. रन बहादुर भण्डारी स्मृति दोस्रो न्यु राईज कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१३ स्थित बभनी भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा भएको दिनको पहिलो खेलमा डिवाइसीले जेवाइसीलाई टाईब्रेकरमा २–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ डिवाइसीका लागि सुगमन सेन ठकुरीले गोल गरे भने पराजित जेवाइसीका लागि झके गुरुङले गोल गरेका थिए । खेलमा डिवाइसीका गोलरक्षक यम क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा न्यु सिर्जनाले शुद्धोधन खेलकुद विकास समिति, शुद्धोधन गाउँपालिकालाई टाईब्रेकर मै ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ शुद्धोधनका लागि कप्तान निजाम अलीले गोल गरेका थिए भने न्यु सिर्जनाका लागि बिनोद रानाले गोल गरेका थिए । खेलमा न्यु सिर्जनाका सन्दिप मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत पुस २९ गते आइतबार १२ः३० बजे हुने पहिलो खेलमा बिजी ब्वाईज, कोटिहवा र सञ्जिवनी युवा क्लब, देवीनगर भिड्ने छन् भने २ः३० बजे हुने दोस्रो खेलमा तिलोत्तमा–११, तिलोत्तमा र रेहरा एफसी, रेहरा बीच हुने खेल संयोजक सुमित मल्लाहले जानकारी दिए ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीको आयोजना, चमेली भण्डारीको मुख्य प्रायोजन तथा भण्डारी ब्रदर्शको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने संयोजक मल्लाहले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ ६ गतेका दिन हुनेछ ।

 

Post Comments