News बि.टी. एफसी फाइनलमा
गोलनेपाल

इटहरी । बि.टी. फुटबल क्लब, तेह्रथुम यहाँ जारी स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बि.टी. ले पहिलो सेमिफाइनलतर्फ दमक एकेडेमी फुटबल क्लब, झापालाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि इटहरी स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने बि.टी. ले दमकमाथि ४–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।

खेलमा बि.टी. का गोलरक्षक प्रेम लिम्बु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल धरान फुटबल क्लब, सुनसरी र सिंहदेवी फुटबल क्लब, धनकुटा बीच हुने आयोजकले जानकारी दियो ।

द योङ्ग ब्रदर्श एफसी, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments