News धनकुटा लहान गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

लहान । धनकुटा एफसी यहाँ जारी दोस्रो लहान मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटाको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

पशुपति आदर्श माविको खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा भक्तपुरको एफसी रियललाई २-१ गोलले पराजित गर्दै धनकुटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा धनकुटाले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ बराबरी खेलेको धनकुटाका लागि अभिषेक श्रेष्ठले खेलको ५७औँ मिनेटमा गोल गरेका थिए । यस्तै, श्याम उरावले खेलको ८४औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।

एफसी रियलका लागि खेलको ८७औँ मिनेटमा विकेश दुवालले गोल गरेर खेलमा फर्किने प्रयास गरेका थिए । तर, ९० मिनेटको खेलमा एफसी रियलका लागि दोस्रो गोल हुन नसक्दा बाहिरिएको छ ।

खेलको म्यान अफ दी म्याच धनकुटाका मनिष राई भए । उनले नगद ३ हजार र ट्रफी पाए । भोलि (शनिबार) आयोजक हिम कस्तुरी युवा क्लब लहानले विरगञ्ज युनाइटेडसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ ।

लहान नगरपालिकाले प्रायोजन गरेको गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार पाउने छ । फाइनल खेल फागुन १ गते हुनेछ ।

 

Post Comments