News फर्साटिकरलाई छैठौं सन्जिवनी कपको उपाधि
सुरज राना मगर

देवीनगर । स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर युवा क्लब, फर्साटिकरले जितेको छ । फाइनलमा झरना स्पोर्टस क्लब, कुन्जलापुरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फर्साटिकर च्याम्पियन बनेको हो ।

तिलोत्तमा–१४ स्थित सन्जिवनी खेलमैदानमा भएको फाइनल खेलमा फर्साटिकरका लागि टिकाराज गुरुङले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो । विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता झरनाले ५५,५५५ रुपैयाँमा चित्त बुझायो ।

झरनाका कप्तान निखिल थापा मगर फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उत्कृष्ट गोलरक्षक पनि झरना कै कुशल बिक बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार फर्साटिकरका आशिष रानाले हात पारे । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी फर्साटिकर कै मिलन क्षेत्री घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँड, आयोजक सन्जिवनी युवा क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु), मुख्य प्रायोजक श्रीमाया गुरुङ, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।

तिलोत्तमा नगरका पूर्व वरिष्ठ व्यक्तिग्त स्व. डिम बहादुर गुरुङको स्मृतिमा छोरी श्रीमाया गुरुङ, श्रीमती जसमाया गुरुङ र छोराहरु डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङ सहित समस्त गुरुङ परिवारद्वारा प्रायोजित तथा सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा गत माघ १६ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments