News शतप्रतिशत जितका साथ नेपाल समूह विजेता
गोलनेपाल

काठमाडौं । अन्तिम खेलमा पनि शानदार जित निकाल्दै शतप्रतिशत जितका साथ नेपाल जारी वाफ महिला च्याम्पियनसितर्फ समूह बी को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार अबेर राती सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनमाथि ४–० को प्रभावशाली जित निकाल्यो । जोद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलको ४२औं मिनटमा साबित्रा भण्डारीले पहिलो गोल गरिन् । पहिलो हाफसम्म नेपालले सोही अग्रता कायम पनि राख्यो ।

दोस्रो हाफमा भने नेपालले थप तीन गोल थप्यो । ५९औं मिनटमा रेखा पौडेलले नेपालका लागि दोस्रो गोल गरिन् । साबित्राले बक्स नजिकैबाट गरेको प्रहार बारमा लागेर फर्किए पछि सोही बललाई रेखाले पोष्टको जाली चुमाएकी थिईन् ।

७८औं मिनटमा साबित्राले नै टोलीका लागि तेस्रो गोल गरिन् । रश्मी घिसिङको सटिक पासलाई साबित्राले सही रुपमा सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गर्न सफल भईन् । त्यस्तै अन्तिमतिर इन्जुरी समयमा गीता रानाले पेनाल्टीबाट नेपालका लागि चौथो गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरिन् ।

त्यस्तै शनिबार नै भएको समूह बी तर्फको अर्को खेलमा सिरियाले इराकमाथि ३–० को सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद समापन गर्यो । तीन खेलबाट ९ अंक जोडेको नेपाल समूह बी को शिर्ष स्थानमा रह्यो भने ६ अंकका साथ प्यालेस्टाइन दोस्रो स्थानमा रह्यो । तीन अंक जोडेको सिरिया तेस्रो र अंकविहीन इराक चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो ।

सेमिफाइनल समिकरण पनि पूरा

शनिबार भएका खेलहरुको नतिजासँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । मंगलबार हुने दूई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा प्यालेस्टाइनले गत संस्करणको विजेता तथा समूह ए को विजेता जोर्डनसँग खेल्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा नेपालले लेबनानको सामना गर्नेछ ।

Post Comments