News झरना स्पोर्टस सेमिफाइनलमा
सुरज राना मगर

करौजिया । झरना स्पोर्टस क्लब, कुन्जलापुर यहाँ जारी स्व. खगी गुरुङसेनी छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ झरनाले नव टिकुलीगढ युवा क्लब, टिकुलीगढलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

तिलोत्तमा–१३, करौजिया स्थित आयोजक कलबको खेलमैदानमा भएको खेलमा झरनाका लागि दुवै गोल कमल भट्टराईले गरे । खेलमा निर्णायक दुई गोल गरेका भट्टराई नै खेलको म्यान अफ द म्याच चुनिए । त्यस्तै खेलमा विवाद उत्पन्न हुँदा रेफ्रीले झरनाका रोहित सुनार र नव टिकुलीगढका नर बहादुर थापालाई रातो कार्ड देखाएका थिए ।

यद्यपि खेलको नतिजामा त्यो रातो कार्डले अन्तर पार्न सकेन । खेलमा नव टिकुलीगढले पटक–पटक पाएको गोलको अवसर र प्रहार गरेको गोल प्रयास सफल नहुँदा चुकचुकाउनुपर्यो । प्रतियोगिता अन्तर्गत फागुन २० गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक न्यु सृजना युवा क्लब, करौजिया र समपुर्ण युवा क्लब, सुपौली बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या. नरजंग गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

 

 

Post Comments