News आर्मी बन्यो पाँचथरको च्याम्पियन
रमेश समदर्शी

फिदिम । यहाँ सम्पन्न वाइवाइ चौथो पाँचथर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल भिडन्तमा आर्मीले घरेलु टोली पाँचथर क्लबलाई ४–२ ले हराउँदै च्याम्पियन बनेको हो ।

फिदिम माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा आर्मीका लागि दिप कुमार लामाले दुई गोल गरे । त्यस्तै पदम तामाङ र सन्तोष केसीले थप एक–एक गोल गरे । उता पराजित आर्मीका लागि आशिष चापागाईं र प्रशान्त लक्षमले गोल गरेका थिए ।

विजेता बनेको आर्मीले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्यो भने उपविजेता पाँचथरले २ लाख ५५ हजारमा चित्त बुझायो । आर्मीका पदम तामाङ फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक आर्मीका नविन तामाङ बन्दा उत्कृष्ट डिफेन्डर पनि आर्मी कै बसन्त तामाङ बने । उत्कृष्ट मिडफिल्डर पनि आर्मीका रुपेश क्षेत्री घोषित हुँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि आर्मीका आदर्श मल्लले हात पारे । उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे । त्यस्तै पाँचथरका मनिष क्षेत्री उदीयमान खेलाडी बन्दा रोशन आङदेम्बे प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । दुवैले जनही १५–१५ हजार र ट्रफी हात पारे ।

पाँचथर क्लबको आयोजनामा फागुन १२ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments