News भरतपुर २४ को विजयी शुरुवात
गोलनेपाल

चितवन । विशाल तामाङको गोलमा पेन्गुईन भरतपुर २४ ले सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा भरतपुर २४ ले हानामी भरतपुर फुटबल क्लबलाई १-० ले हरायो ।

भरतपुर २४ को जितमा विशालले दोस्रो हाफको १० औं मिनेटमा गोल गरे । सुशन गुरुङको थ्रु पासमा विशालले सुन्दर गोल गरे । खेलको अन्त्यतिर बिएफसीले सुन्दर अवसर गुमायो । राज भुसालको हेडर पासमा बिक्की राई वान भर्सेज वानमा गोल गर्न चुके ।

यो जितसँगै भरतपुर २४ क्वाटरफाइनलमा प्रवेश गरेको छ । भरतपुर २४ का विशाल म्यान अफ दि म्याच भए । उनलाई प्रमुख अतिथि भरतपुर २४ का वडाध्यक्ष राम गोदार र मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाईबी) ले ट्रफी प्रदान गरे ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार पनि एक खेल हुनेछ । आइतबार हुने खेलमा एभरेस्ट एफसी र रड्स रामपुर भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

Post Comments