News सुनिलको उत्कृष्ट प्रदर्शनमा रामपुरको जित
गोलनेपाल

चितवन । गोलरक्षक सुनिल गुरुङको उत्कृष्ट प्रदर्शनमा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा रामपुर एफसी रड्स विजयी भएको छ । आइतबार सम्पन्न खेलमा रामपुरले एभरेष्ट क्लबलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा रामपुरले एभरेष्टलाई सडन डेथमा पराजित गर्यो ।

त्यसअघि निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा अनिल राना मगरको गोलमा रामपुरले अग्रता लिएको थियो । पहिलो हाफको २४ औं मिनेटमा एभरेष्टका गोलरक्षक उमेश कार्की अघि बढेको मौकामा अनिलले बललाई जाली चुमाए ।

पहिलो हाफमै एभरेष्टले बराबरी गोल फर्कायो । पहिलो हाफको अतिरिक!समयमा उत्कृष्ट फ्री किक गोल गर्दै कप्तान रोशन क्षेत्रीले एभरेष्टलाई खेलमा फर्काए । दोस्रो हाफमा एभरेष्टले केही अवसर पाए पनि रामपुरका गोलरक्षक बाधक बने ।

निर्धारित समयमा १-१ को बराबरीपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा पनि ४-४ को बराबरीपछि सडन डेथमा रामपुरले बाजि मार्यो । रामपुरका गोलरक्षक सुनिल म्यान अफ दि म्याच भए । उनलाई प्रमुख अतिथि सहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष संगीता भट्टराई र मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञ विलास पौडेलले ट्रफी प्रदान गरे ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा सोमबार पनि एक खेल हुनेछ । सोमबार हुने खेलमा कैलाश युथ क्लब र एपिएफ भण्डारा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Post Comments