News नवलपरासीमा फुटबल खेलाडीहरुलाई राहत वितरण
सुरज राना मगर

सुनवल । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आक्रान्त बनेका नवलपरासीका स्थानीय फुटबल खेलाडीहरुलाई राहत वितरण गरिएको छ ।

नवलपरासी जिल्ला फुटबल संघले आफू मातहतमा रहेका जिल्लाका स्थानीय फुटबल खेलाडीहरुलाई उनीहरुको वर्तमान आर्थिक अवस्थालाई हेरि एक कार्यक्रमका बीच राहत सहयोग हस्तान्तरण गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोभिड–१९ कै कारण राहत स्वरुप फिफाबाट प्राप्त रकम आफू मातहतका जिल्ला फुटबल संघहरुलाई जनही ७५ हजारका दरले उपलब्ध गराएको थियो । सोही रकममा केही थप गरि नवलपरासी जिल्ला फुटबल संघले खेलाडीहरुलाई सहयोग हस्तान्तरण गरेको हो ।

एन्फाबाट प्राप्त सोही रकमलाई जिल्लामा रहेका खेलाडीहरुलाई यो विपतका बेला केही राहत मिलोस भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धन प्रसाद गुरुङले बताए ।

सुनवल नगरपालिका–१३ स्थित संघको कार्यालयमा सम्पन्न राहत वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले यो विपतका बेला जिल्लाका खेलाडीहरुलाई सहयोग गर्नु आफूहरुको पनि जिम्मेवारी र कर्तव्य रहेको बताए ।

साथै उनले कार्यक्रममा बोल्दै उपस्थित खेलाडीहरुलाई यो महामारीका सयमा सजकता र सतर्कता अपनाएर सुरक्षित रहन आग्रह गरे । फुटबल गतिविधी ठप्प भए तापनि अध्यक्ष गुरुङले आफ्नो स्वास्थ्यलाई नियमित तन्दुरुस्त राख्न नियमित शारीरिक अभ्यास गर्न पनि सुझाए ।

राहत वितरण कार्यक्रममा उपस्थित स्थानीय ३१ जना खेलाडीहरुलाई जनही ३–३ हजारका दरले राहत उपलब्ध गराइएको थियो । उक्त रकम थोरै भए तापनि सो सहयोगले खेलाडीहरुलाई आफ्नो दैनिकीका लागि केही हदसम्म राहत मिल्ने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरे ।

फुटबल संघका सचिव चित्र बहादुर गुरुङको सञ्चालनमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष मिलन गुरुङ, ज्ञानु गुरुङ, फुटबल प्रशिक्षक जित बहादुर पुन लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

 

Post Comments