News सी डिभिजन लिगः बागमतीको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । बिहीबारदेखि शुरु भएको शहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दिनको पहिलो खेलमा बागमती युवा क्लब, सर्लाहीले विजयी शुरुवात गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले सानेपा क्लबलाई ३–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । बागमतीको जितमा बिमल घिसिङ र सृजन गौतमले एक–एक गोल गरे । थप एक गोल भने सानेपाका अमिर केसीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता पराजित सानेपाका लागि पेम्बा लामाले एक मात्र सान्त्वना गोल फर्काए ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा रानीबन स्पोर्टस क्लब र महाबीर क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा रानीबनका लागि धनराज थापाले गोल गरे भने महावीरका लागि शिव चौलागाईले गोल गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।

Post Comments