News सौभाग्य सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । रोमाञ्चक जितका साथ सौभाग्य युवा क्लब, दिपनगर यहाँ जारी सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ सौभाग्यले समपुर्ण युवा क्लब, सुपौलीलाई ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

बुटवल–१३, बेलबास स्थित जवई खेलमैदानमा भएको खेलमा सौभाग्यका लागि सुजित चौधरी, जमिर मियाँ, मोहन थापा र मनोज लामिछानेले गोल गरे । पराजित समपूर्णका लागि रोहित पुन, एलिस मगर र निखिल पुन मगरले गोल गरेका थिए ।

खेलमा सौभाग्यका जमिर मियाँ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत २५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल र न्यु युथ युनियन क्लब, पाल्पा बीच हुने खेल संयोजक प्रताप रानाले जानकारी दिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments