News फर्साटिकरलाई दोस्रो न्यु युथ युनियन कपको उपाधि
सुरज राना मगर

तानसेन । यहाँ सम्पन्न दोस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली फर्साटिकर युवा क्लब, फर्साटिकर, रुपन्देहीले जितेको छ । फाइनलमा राइजिङ–११ लाई २–१ ले हराउँदै फर्साटिकरले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको फाइनल खेलमा फर्साटिकरका लागि एलिस क्षेत्री र क्षितिज राज जिटीले गोल गरे । पराजित राइजिङ–११ का लागि भने दानु क्षेत्रीले एक मात्र गोल फर्काएका थिए ।

विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता राइजिङले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फर्साटिकरका क्षितिज राज जिटी फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक फर्साटिकरका शुभांकर जिसी चुनिए भने उत्कृष्ट डिफेन्डर फर्साटिकर कै बिशाल नेपाली घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक न्यु युथ युनियनका बिराज कार्कीले हात पार्दा उदियमान खेलाडी पनि न्यु युथ युनियन कै निशान पुन चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने राइजिङ–११ का दानु क्षेत्री घोषित भए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा भएको प्रतियोगितामा पाल्पा, रुपन्देही, गुल्मी र स्याङजाका गरी कुल १५ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments