बुइपा । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार मोरङ, तेह्रथुम, ओखलढुङ्गा र ताप्लेजुङले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा मोरङले पाँचथरमाथि १–० को जित निकाल्यो । मोरङका लागि सन्जु तामाङले एक मात्र निर्णायक गोल गरिन् । निर्णायक गोलकर्ता सन्जु नै खेलको प्लेयर अफ द म्याच घोषित भईन् । यो जितसँगै मोरङ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा तेह्रथुमले संखुवासभालाई समान १–० को अन्तरले हरायो । तेह्रथुमका लागि सहारा लिम्बुले एक मात्र गोल गरिन् । सहारा नै खेलको प्लेयर अफ द म्याच बनिन् । यो जितसँगै तेह्रथुम पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै दिनको तेस्रो खेलमा ओखलढुङ्गाले इलाममाथि १–० को जित निकाल्यो । ओखलढुङ्गाका लागि बिनिता राईले निर्णायक गोल गरिन् । राई नै खेलको प्लेयर अफ द म्याच घोषित भईन् । यो जितसँगै ओखलढुङ्गा भने सेमिफाइनलमा प्रवेश गरेको छ ।
दिनको चौथो तथा अन्तिम खेलमा ताप्लेजुङले घरेलु टोली खोटाङ्गमाथि ४–० को प्रभावशाली जित हात पार्यो । ताप्लेजुङका लागि डोल्मा शेर्पा, बिनिता खवास, अनुषा लिम्बु र सुष्मा लिम्बुले गोल गरिन् । खेलमा ताप्लेजुङकी डोल्मा शेर्पा प्लेयर अफ द म्याच चुनिईन् । यो जितसँगै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, बिराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति, खोटाङको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार २५ गतेका दिन हुनेछ ।