News शनिश्चरेलाई हराउँदै झापा एफसी फाइनलमा
रमेश समदर्शी

शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा शनिश्चरे एफसी उपाधि दौडबाट बाहिरिएको छ ।

पाहुना टोली झापा एफसी राजगढले २-० गोलअन्तरले शनिश्चरेलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार टोली शनिश्चरेको आजै दुई सेमिफाइनल खेल भएकाले नियमित ५ खेलाडी यहाँ सहभागी थिएनन् ।

यद्यपि, राम्रो प्रदर्शन गरिरहेकै बेला झापा एफसीका परिवर्तित खेलाडी दिपेश श्रेष्ठले गोल गरेका थिए । १-० गोलको अग्रतामा झापा एफसीकै लागि रोशन धिमालले रित्तो पोस्टमा गोल गरेर अग्रता दोब्बर बनाएका हुन् ।

पहिलो सेमिफाइनल खेलको प्लेयर अफ दी म्याच झापा एफसीका गोलरक्षक आयुश योङहाङ भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, अर्जुनधारा १ का अध्यक्ष उपेन्द्र बस्नेत, खेल संयोजक बेनुकुमार राईले नगद १ हजार ५ सय पुरस्कार प्रदान गरे ।

Post Comments