
काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा फेरि लगातार दोस्रोपटक नेपाल र बंगलादेश भिड्ने भएका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलतर्फ नेपालले दश खेलाडीमा सिमित भएर पनि भारतलाई हराउँदा उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गरेको हो ।
दशरथ रंगशालामा निर्धारित समयको प्रतिस्पर्धात्मक खेल नेपाल र भारतले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा संगिता बासफोरको गोलबाट भारतले खेलमा अग्रता लिए तापनि नेपालले खेलमा रोमाञ्चक पूनःरागमन गरेको थियो ।
दोस्रो हाफतर्फ रेखा पौडेलले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा नेपाल एक समय दश खेलाडीमा सिमित भएर दबाबमा पर्न पुगेको थियो । लगतै केही समय खेल पनि रोकिन पुग्यो । गोल खाएको केही क्षण मै नेपालले पनि गोल फर्काएको थियो । तर त्यो गोल मान्य बनेन ।
भारतका खेलाडीहरुले गोल गरेपछि खुशीयाली मनाउँदै गर्दा नेपालका लागि खाली पोष्ट रहेका बेला प्रिती राईले गोल गरेकी थिईन् । नेपाली खेलाडी र टिम अफिसियलहरुले गोलको खुशी पनि मनाए । तर, रेफ्रीले त्यो गोललाई मान्यता नदिंदा केही समय खेल पनि रोकिन पुगेको थियो ।
लामो छलफल पश्चात् फेरि सूचारु गरिएको निर्धारित समयको खेल १–१ कै बराबरीमा सकिंदा पेनाल्टी शुटआउटमा नेपालले भारतमाथि ४–२ को जित निकाल्यो । भारतका एक खेलाडीको प्रहार बारमा लागेर फर्किएको थियो भने थप एक प्रहार नेपालकी गोलरक्षक अन्जना राना मगरले रोकेी थिईन् ।
अब बुधबार हुने फाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग उपाधिका लागि भिड्नेछ । स्मरण रहोस, आइतबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न