
तुलसीपुर । घरेलु टोली टरिगाउँ युवा क्लब, तुलसीपुर, दाङ यहाँ जारी चौथो हिरा डाँगी स्मृति कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
मंगलबार भएको तेस्रो क्वाटरफाइनलतर्फ टरिगाउँले पाहुना टोली सहारा फुटबल क्लब, लखनाउलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
त्यसअघि अरनिको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । जसमा टरिगाउँले नतिजा आफ्नो पक्षमा पार्यो ।
खेलमा टरिगाउँका गोलरक्षक बिशाल केसी म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर ५ गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल ब्रिगेड ब्वाईज क्लब, काठमाडौं र कपिलवस्तु–११, कपिलवस्तुबीच हुने आयोजकले जानकारी दियो ।
हिरा डाँगी फाउण्डेशन, तुलसीपुर, दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०० हात पार्नेछ भने उपविजेताले १,०१,१०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर ८ गतेका दिन हुनेछ ।