
बेसीशहर । विभागीय टोली एपिएफ फुटबल क्लब र टोखा भगवती फुटबल क्लब यहाँ जारी प्रतिष्ठित ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले मच्छिन्द्र फुटबल क्लबमाथि ४–० को एकतर्फी जित निकाल्यो । एपिएफका लागि खेलको २२औं मिनटमा हरि कार्कीले गोलको खाता खोलेका थिए । त्यस्तै खेलको पहिलो हाफतर्फ प्रदिप लामाले त्यो अग्रता दोब्बर पारे ।
त्यस्तै दोस्रो हाफको ५१औं मिनटमा प्रदिप लामाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा ५८औं मिनटमा युवराज खड्काले चौथो गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा एपिएफका प्रदिप लामा म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
त्यसैगरी बुधबार नै भएको दोस्रो क्वाटरफाइनलमा टोखा भगवतीले न्युरोडटिम (एनआरटी) लाई ३–० ले हरायो । टोखा भगवतीका लाग खेलको सातौं र ३७औं मिनटमा अमित लामाले लगातार दुई गोल गर्दा ४७औं मिनटमा रिचार्डले तेस्रो गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत पुष १८ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक त्रिवेणी युवा क्लब, बेसीशहर र अभिषेक चर्च, रजहर बीच हुनेछ भने चौथो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र बुद्ध युवा क्लब, भोटेबडार बीच हुने आयोजकले जानकारी दियो ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २० गतेका दिन हुनेछ ।