सुनवल । जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरको आयोजनामा बुधबारदेखि शुरु भएको प्रथम जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगितामा शिवपुर फुटबल क्लब, शिवपुरले विजयी शुरुवात गरेको छ ।
किर्तिपुर स्थित आयोजक क्लब कै खेलमैदानमा भएको रोमाञ्चक उद्घाटन खेलमा शिवपुरले उदय युवा क्लब, धर्मवस्तीलाई ४–३ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
शिवपुरको जितमा अशोक सुनारले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरे । त्यस्तै थप एक गोल अशोक घर्ती मगरले गरे । उता पराजित उदय युवा क्लबका लागि आशिष तामाङले दुई गोल गर्दा थप एक गोल कमल बुढाथोकीले गरे ।
खेलमा ह्याट्रिक गरेका शिवपुरका अशोक सुनार म्यान अफ दि म्याच चुनिए । यो जितसँगै शिवपुर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुष १८ गते बिहीबार खेल सनराईज एफसी, बडेरा र मुन स्टार एफसी, सुनवल बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्याल, आयोजक क्लबका अध्यक्ष निकेश गुरुङ लगायतले संयुक्त रुपमा गरेका थिए ।
आउँदो माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निकेश गुरुङले जानकारी दिए ।