News बागमती प्रदेश लिगः काठमाडौंको पशुपति शिवाजी चित्लाङ एफसी फाइनलमा, उपाधिका लागि दोलखाको टाईगरसँग भिड्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । काठमाडौं जिल्लाको पशुपति शिवाजी चित्लाङ एफ सी हेटौडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा काठमाडौंले ललितपुरको लक्की स्टार क्लबलाई पराजित गर्दै उपाधी नजिक पुगेको छ ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा काठमाडौंले ललितपुरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलको तेस्रो मिनेटमा काठमाडौंका लागि यमन महर्जनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यद्यपि पहिलो हाफको अन्त्यतिर ललितपुरको लागी राम कृष्ण चौधरीले बराबरी गोल फर्काएका थिए ।

तर, दोस्रो हाफको तेस्रो मिनेटमा पुन काठमाण्डौका यमन महर्जनले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंको अग्रता २–१ को स्थितीमा पुर्याए । त्यस्तै खेलको ७४ओै मिनेटमा सुजित बुढाथोकिले तेस्रो गोल गर्दै काठमाडौंको जित सुनिश्चित गरे ।

खेलको म्यान अफ द म्याच काठमाडौंका यमन महर्जन घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । प्रतियोगिता फाइनल खेल शनिबार काठमाडौँको पशुपति शिवाजि चित्लाङ फुटबल क्लब र दोलखाको टाईगर टिमको बिच हुनेछ । यससँगै फाईनल प्रबेश गरेका दुबै टोलीले एन्फा प्रेसिडेन्ट कप खेल्ने पनि पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजन तथा बागमती प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । लिगकम नकआउटका आधारमा जारी प्रतियोगिताको फाइनल खेल पुष २० गतेका दिन हुनेछ । 

Post Comments