News एभिएम, चिल्ड्रेन लाईफ र गुठी युनाइटेड क्वाटरफाइनलमा
सुरज राना मगर

बागलुङ । एभिएम, चिल्ड्रेन लाईफ स्पोर्टस क्लब र गुठी युनाइटेड यहाँ जारी दोस्रो स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बाङ्गेचौर खेलमैदानमा भएको पहिलो खेलमा एभिएमले बिवाईसीलाई ५–१ को अन्तरले हरायो । खेलमा एभिएमका जोफा कोनाम म्यान अफ दि म्याच घोषित भए ।

दोस्रो खेलमा चिल्ड्रेन लाईफले इन्सपायर ग्लोबल एकेडेमीलाई ५–० को अन्तरले हरायो । खेलमा चिल्ड्रेन लाईफका सरोज दर्लामी मगर म्यान अफ दि म्याच चुनिए ।

तेस्रो खेलमा भने गुठी युनाइटेडले रिभरसाईड बगरफाँटलाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा गुठीले रिभरसाईडमाथि ५–४ को जित निकाल्न सफल भयो ।

बागलुङ एकता क्लब, बागलुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ५ गतेका दिन हुनेछ ।

Post Comments