बाग्लुङ नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजित तेस्रो बाग्लुङ मेयर कप पालिका स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगितामा पैयुँ गाउँपालिका (पर्वत) अन्तिम चारमा प्रवेश गरेको छ।
बाग्लुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा आइतबारदेखि सुरु भएको प्रतियोगितामा सोमबार तीन खेल सम्पन्न भए।
पहिलो खेलमा जैमिनी नगरपालिका निर्धारित समयमा मैदान उपस्थित नभएपछि बेनी नगरपालिका (म्याग्दी) वाकओभरमार्फत क्वार्टरफाइनलमा पुगेको छ।
दोस्रो खेलमा गलकोट नगरपालिका र गण्डकी प्रदेश प्रहरी (पोखरा) बीच प्रतिस्पर्धा भयो। निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमा गण्डकी प्रदेश प्रहरीले ४–२ ले जित हात पार्दै अन्तिम आठमा स्थान बनायो। गण्डकी प्रहरीका गोलरक्षक जीवन ठकुरी एक प्रहार रोकेर म्यान अफ द म्याच बने।
सोमबारको दोस्रो क्वार्टरफाइनल तथा दिनको अन्तिम खेलमा कालिजङ् गण घोडाबाधे र पैयुँ गाउँपालिका (पर्वत) भिडे। खेल निर्धारित समयमा गोलरहित रहँदा पेनाल्टीमा पैयुँले ३–२ ले जित निकाल्यो।
पैयुँका गोलरक्षक बिजन बस्याल चम्किए—उनले तीन पेनाल्टी प्रहार रोकेर टीमलाई सेमीफाइनलमा पुर्याए। उनी म्यान अफ द म्याच बन्दै रु २,००० सहित ट्रफीबाट पुरस्कृत भए। पराजित कालिजङ् गणका अजय मगरले दुई प्रहार रोके पनि टिमलाई बचाउन सकेनन्।
मंगलबार हुने अन्तिम दुई क्वार्टरफाइनल खेलः
-
गण्डकी प्रदेश प्रहरी पोखरा vs कटारी नगरपालिका उदयपुर (बिहान ११ बजे)
-
बाग्लुङ नगरपालिका सेतो vs बेनी नगरपालिका म्याग्दी (दिउँसो १ बजे)
विजेता टिमले रु ३,३३,३३३, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले रु २,२२,२२२ प्राप्त गर्नेछ। प्रतियोगिता मंसिर १८ गते सम्पन्न हुनेछ। प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन्।