बाग्लुङ । बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा न. एक बाङ्गेचौरको खेलमैदानमा बाग्लुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी तेस्रो बाग्लुङ मेयर कप पालिका स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि समीकरण पुरा भएको छ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पाहुना टोली कटारी नगरपालिका उदयपुरलाई पेनाल्टी सुटआउटमा हराउँदै बाग्लुङ नगरपालिका निलो उपाधि नजिक पुगेको हो। खेलको ३७ मिनेटमा पेनाल्टी बक्स भित्र र ह्यान्डबल हुँदा प्राप्त गरेको पेनाल्टीलाई बाग्लुङका कप्तान निशान थापाले जाली चुमाउँदै अग्रता दिलाएका थिए। खेलको ४९ औँ मिनेटमा निश्चल महतले बाग्लुङका लागि दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर गर्दा उक्त गोल खाएको ३ मिनेट नबित्दै अभिशेष खड्काले लगातार दुई उत्कृष्ट गोल गर्दै कटारीलाई खेलमा फर्काएका थिए।
बाँकी समय त्यसपश्चात दुवै टोलीले गोल गर्न सकेनन् र खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा दुवै टोलीबाट कुल ५/५ प्रहार हुँदा बाग्लुङका गोलकिपर युनिस श्रेष्ठले कटारीको दोस्रो प्रहरलाई रोक्दै आफ्नो टिमलाई फाइनलको बाटो देखाएका थिए। समग्रमा बाग्लुङ नगरपालिका निलो ५/४ को नतिजामा जित सुनिश्चित गरेको हो। उक्त खेलको नायक बाग्लुङका गोलकिपर बन्दै २००० सहित ट्रफी प्राप्त गरे।
दोस्रो सेमीफाइनल खेल बेनी नगरपालिका म्याग्दी र पैयुँ गाउँपालिका पर्वतबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएको थियो। उक्त खेल पनि पेनाल्टी सुटआउटमा जाँदा पैयुँ गाउँपालिकाका गोल रक्षक बिजन बस्याल नायक बन्दै आफ्नो टिमलाई फाइनलमा पुर्याउन सफल भएका छन्। बेनीको पहिलो प्रहार बाहिर जादा र दोस्रो प्रहार बिजन बस्यालले रोकिदिएपछि बेनीको उपाधी यात्रामा पूर्णविराम लागेको हो। उता पैयुँका लागि सम्पूर्ण खेलाडीहरुले गोल गरेका थिए।
बिहिबार उपाधिका लागि बाग्लुङ नगरपालिका निलो र पैयुँ गाउँपालिका पर्वत दिनको ठीक १ बजे प्रतिस्पर्धा गर्नेछन्।