News एएफसी यु–१९ महिला छनौट : आयोजकलाई चुनौति दिन नेपाल तयार
गोलनेपाल

आजदेखि शुरु हुन गईरहेको एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटतर्फ नेपालले आफ्नो पहिलो खेलमा आज आयोजक टोली थाइल्याण्ड कै सामना गर्दैछ ।

चोनबुरी स्टेडियममा नेपाली समयअनुसार ६:१५ मा शुरु हुने थाइल्याण्ड विरुद्धको खेल नेपाली टोलीका लागि महत्वपूर्ण, केहि कठिन र चुनौतिपूर्ण पनि छ । थाइल्याण्ड तुलनात्मक रुपमा नेपाल भन्दा बलियो टोली हो । साथै थाइल्याण्डले आगामी बर्ष हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपको फाइनल चरणको खेलहरु पनि आयोजना गर्दैछ ।

यता भर्खरै भुटानमा सम्पन्न साफ यु–१९ महिला च्याम्पियनसिपको उपविजेता समेत रहेको नेपाली टोली पनि आत्मविश्वासी छ । सेमिफाइनलमा दावेदार भारतलाई पाखा लगाएकोले पनि नेपाली टोलीले जितको सम्भावना र आशा बोकेको छ । साथै जितका साथ प्रतियोगिताको शुरुवात गर्न चाहन्छ ।

नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले आज हुने थाइल्याण्ड विरुद्धको खेलमा बराबरी नतिजाको लक्ष्य लिएका छन् । यद्यपि नेपाली टोलीकी कप्तान सरु लिम्बुले भने आयोजक टोलीलाई हराउने विश्वास व्यक्त गरेकी छिन् ।

कति होला त आजको नतिजा ? थाइल्याण्डलाई पराजित गर्न सक्ला त नेपाल ? नेपाली चेलीहरुलाई जित र उत्कृष्ट प्रदर्शनको शुभकामना दिनुहोस् ।

छनौट प्रतियोगितामा सहभागि कुल २४ टोलीलाई ६ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष स्थान हासिल गर्ने समूह विजेता टोली र उत्कृष्ट दुई उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा भिड्ने ८ टोलीहरुलाई दुई समूहमा विभाजन गरिनेछ ।

ती दुई समूहबाट शिर्ष दुई स्थान हासिल गर्ने टोली आगामी बर्ष थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपका लागि छनौट हुनेछन् । आयोजक थाइल्याण्ड, चीन, जापान र उत्तर कोरिया भने यसअघि नै अन्तिम चरणका लागि छनौट भईसकेका छन् ।

Post Comments