
शनिश्चरे (झापा) । अर्जुनधारा ८ नम्बर वडाको टिम यहाँ जारी तेस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै ८ नम्बरले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।
अर्जुनधारा खेलमैदानमा भएको खेलमा ८ नम्बरले २-१ गोलअन्तरमा ७ नम्बरलाई पराजित गरेको हो । अर्जुनधारा ८ का लागि लक्कीराम हेमरमले सुरुवाती गोल गरेका थिए । टिमका लागि अर्पित मगरले अग्रता दोब्बर बनाएका हुन् ।
अर्जुनधारा ७ का लागि सन्देश धिमालले सान्त्वना गोल गरे । ८ नम्बरको एकतर्फी दबाब झेलिरहेको अवस्थामा धिमालले खेलको अन्त्यतिर गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच ८ नम्बरका दिपेश धिमाल भए । उनले नगद पुरस्कार पाए ।
साविक झापा जिल्ला लिग विजेता शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २८ गते सोमबार हुनेछ ।