News गोर्खाली कपः न्यु दौतरी युथ क्वाटरफाइनलमा
गोलनेपाल

गोरखा । सहज जित हात पार्दै न्यु दौतरी युथ कलब, सिरानचोक जारी नवौं गोर्खाली रनिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हरमटारी खेलमैदानमा भएको खेलमा नयु दौतरी युथले दि हिमालयन आरुघाट बगैचालाई ४–१ ले हराउँदै अनितम आठमा स्थान बनाएको हो । न्यु दौतरी युथको जितमा अनिल राना मगरले दुई गोल गर्दा समिर श्रेष्ठ र फ्लोरेन्टिनो कोआराले समान एक–एक गोल गरे । पराजित दि हिमालयन आरुघाटका लागि भने राजकुमार घलेले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा दुई गोल गरेका न्यु दौतरी युथका अनिल राना मगर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत फागुन १० गते शनिबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा १ बजे समिचौर युथ क्लब, गोरखा र जनसहारा युथ क्लब, देउरालीबीच हुनेछ भने दोस्रो खेल ३ बजेदेखि आयोजक हरमटारी क्लब र गण्डकी प्रदेश प्रहरी फुटबल टिमबीच हुने आयोजकले जानकारी दियो ।

हरमटारी क्लब, गोरखाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्नेछ भने फेयर प्ले टिमले नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

त्यसबाहेक सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १५–१५ हजार हात पार्नेछन् भने उदियमान खेलाडीले १० हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।

Post Comments