News 'मोरङ डर्बी'मा पथरीको प्रभावशाली जित
गोलनेपाल

बेलबारी । प्रभावशाली जितका साथ पथरी फुटबल क्लब, मोरङ जारी टुबोर्ग स्व. संजोग स्मृति कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ पथरीले आयोजक बेलबारी एफसी (निलो), मोरङ लाई ३–० ले हराउँदै प्रभावशाली जित दर्ता गरेको हो । पथरीका लागि ४६औं मिनटमा अंिकत लिम्बुले गोलको खाता खोलेका थिए ।

लगतै ५३औं बिशाल पाण्डेले पथरीको त्यो अग्रता दोब्बर पारे । खेलमा एकपक्षीय नतिजा आत्मसात गरेको पथरीका लागि ७४औं मिनटमा रोशन माफीले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच पथरी कै मिन धिमाल घोषित भए । उनलाई पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक संजिव बुढाथोकीले नगद २५५५ सहित पुरस्कृत गरे । यो जितसँगै पथरी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत पुष १९ गते आइतबारको प्रिक्वाटरफाइनल खेल अर्को आयोजक टोली बेलबारी एफसी (रातो) र लेटाङ एफसी, लेटाङबीच हुने आयोजकले जानकाएको छ ।

बेलबारी एफसी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष २५ गते शनिकबारका दिन हुनेछ ।

Post Comments