झापा। झापाको पाराबारीमा जारी प्रथम पाराबारी नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न दुई खेलबाट पाराबारी एफसी र रोयल स्पोर्टिङ क्लब दमक सेमिफाइनलमा प्रवेश गरेका छन्।
पाराबारीस्थित भानु माविको खेल मैदानमा सम्पन्न पहिलो खेलमा पाराबारी एफसीले गौरीगञ्ज नगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। उक्त खेलको प्लेयर अफ द म्याच पाराबारी एफसीका मार्कुस किस्कु घोषित भए।
त्यसैगरी, आज सम्पन्न दोस्रो खेलमा रोयल स्पोर्टिङ क्लब दमक र मदरगाछ क्लबबीचको प्रतिस्पर्धा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
पेनाल्टी सुटआउटमा रोयल स्पोर्टिङ क्लबले पाँचमध्ये तीन प्रहारलाई गोलमा परिणत गर्दा मदरगाछ क्लबले दुई गोल मात्र गर्न सक्यो। यससँगै रोयल स्पोर्टिङ क्लबले मदरगाछ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। उक्त खेलको प्लेयर अफ द म्याच रोयल स्पोर्टिङ क्लबका गोलरक्षक कृष्ण घिमिरे घोषित भए।