जहदा भेट्रान्स क्लब फाइनलमा प्रवेश
गोलनेपाल

मोरङ। मोरङको कानेपोखरी गाउँपालिका–जहदामा सञ्चालित दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो जहदा भेट्रान्स कप २०८३ को पहिलो सेमिफाइनलमा आयोजक जहदा भेट्रान्स क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।

जहदास्थित जहदा खेलमैदानमा आज सम्पन्न खेलमा जहदा भेट्रान्सले सप्तरी एघार भेट्रान्स क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

जहदाको जितमा प्रकाश थापाले पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा कवल खवासले कर्नरबाट सिधै गोल गरेपछि जहदाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा थप आक्रामक बनेको जहदाका लागि प्रकाश थापाको स्थानमा मैदान प्रवेश गरेका जागेश्वर चौधरीले ह्याट्रिक पूरा गरे। त्यसैगरी डेनिम राईले पनि एक गोल गरे।

पराजित सप्तरी एघार भेट्रान्सका लागि जर्सी नम्बर ७ का हेमन्त चौधरीले एकमात्र सान्त्वना गोल फर्काए। अन्ततः जहदा भेट्रान्सले ६–१ को शानदार जित निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो।

तालिकाअनुसार आज अन्तिम क्वार्टरफाइनल खेल हुने तय भए पनि सिक्किमको टोली मैदानमा आइपुग्न समय लाग्ने भएकाले खेल तालिका परिवर्तन गरिएको थियो। संशोधित तालिकाअनुसार आज पहिलो सेमिफाइनल खेल सम्पन्न भएको हो भने भोलि अन्तिम क्वार्टरफाइनल खेल हुनेछ।

Post Comments