धरान । डी–नाइन्टीनको आयोजनामा धरान रंगशालामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण धरान महिला गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी बनेको छ।
आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लब सर्लाहीलाई ९–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
आर्मीको शानदार जितमा दिपा साहीले चार गोल गरिन् भने जेनिफर रानाले ह्याट्रिक पूरा गरिन्। त्यसैगरी बिमला चौधरी र तुलसा बोहराले समान एक–एक गोल गरे।
खेलको दोस्रो, छैटौँ, २४औँ र ३८औँ मिनेटमा गोल गर्दै दिपा साहीले व्यक्तिगत चार गोल पूरा गरिन्। बिमला चौधरीले १७औँ मिनेटमा गोल गर्दा जेनिफर रानाले २०औँ, ३३औँ र ६५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यस्तै तुलसा बोहराले ६२औँ मिनेटमा गोल थपिन्।
चार गोल गरेकी त्रिभुवन आर्मीकी दिपा साही खेलको म्यान अफ द म्याच घोषित भइन्।
यस जितसँगै त्रिभुवन आर्मी फुटबल क्लबले सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँगको भेट पक्का गरेको छ।
प्रतियोगिताअन्तर्गत भोलि हुने अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लब र काकरभिट्टा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
- एपीएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि
- पोखरामाथि गोल वर्षा गर्दै आयोजक झापा महिला गोल्डकपको सेमिफाइनलमा
- मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग