Province 1 भोजपुरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप हुने
गोलनेपाल

भोजपुर । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा नयाँ बर्ष २०७८ को बैशाख पहिलो सातादेखि चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला सदरमुकामको टुंडिखेल मैदानमा बैशाख ५ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगितामा एक विदेशीसहित कुल आठ टोलीहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सहभागी टोलीहरुमा आयोजक भोजपुर फुटबल क्लब, धरान फुटबल क्लब सुनसरी, सगरमाथा युथ क्लब मोरंग, धनकुट्टा फुटबल क्लब, धनकुट्टा, रेडहर्ष फुटबल क्लब इलाम, भगवती स्पोर्टस क्लब खोटाड्ग, गोर्खा ब्याइज क्लब, रूपन्देही र अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन रहेको प्रतियोगिता संयोजक सफल किरातले जानकारी दिए ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने पनि संयोजक किरातले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने बैशाख ११ गतेका दिन हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रबीन सुवालले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च ३४ लाख लाग्ने बताए । साथै उनले गोल्डकप सम्पन्न भए लगतै जिल्ला लिग र तेस्रो महिला मेयरकप फुटबल प्रतियोगिता संचालन गरिने समेत जानकारी दिए ।

Post Comments