Province 2 प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कप शुरु
गोलनेपाल

हरिवन । चतुर्भुजेश्वर खेलमैदान हरिवन नगरपालिका वडा नं १० सुखेपोखरी सर्लाहीमा प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कप मङ्गलबार भव्यताका साथ समुद्घाटन भएको छ। स्वतन्त्र विद्यार्थी युनियन चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता मधेश प्रदेशव्यापी फुटबल प्रतियोगिता हो। जसमा मधेस प्रदेशका अधिकांश जिल्लाका उत्कृष्ट आठ टोलीहरूलाई समावेश गरिएको छ।

मङ्गलबार सम्पन्न पहिलो औपचारिक खेलमा एभरेस्ट फुटबल एकेडेमी लालबन्दी सर्लाहीलाई ३-० गोलन्तरले पराजित गर्दै युनाइटेड युवा क्लब बर्दिबास महोत्तरी सेमीफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ। पहिलो हाफ दिपेश चाम्लिङ राईको एकमात्र सुन्दर गोलमा युनाइटेड युवा क्लब बर्दिबास महोत्तरी अग्रता लिन सफल भएको थियो। दोस्रो हाफको १२ मिनेट नबित्दै एभरेस्ट फुटबल एकेडेमीका बिमल ठोकरले फउल गर्दा रातो कार्ड प्राप्त गरेपछि १० खेलाडीमा समेटिएको टोलीलाई फराकिलो नतिजामा पराजित गर्दै महोत्तरीले सेमीफाइनलको यात्रा तय गरेको हो। पहिलो हाफ एक गोलले अघि रहेको महोत्तरीले दोस्रो हाफको २७ र ३२ औँ मिनेटमा अभ्य स्याङतानले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गराए। साथै उनी उक्त खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका हुन्।

बुधबार प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा चन्द्रपुर बोइज रौतहट र वेंगाडावर युवा क्लब धनुषा दिनको ठिक ३ बजे प्रतिस्पर्धा गर्नेछन्।

Post Comments