दुबई, यूएई। नेपाली समुदायबीच आपसी एकता, भाइचारा र फुटबलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको माई अरब लमजुङ दशैं कप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। यूएईमा नेपाली फुटबलको इतिहासमा सम्झनलायक प्रतियोगिताका रूपमा रहेको यस प्रतियोगितामा खुला र भेट्रान्स विधाका खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भए।
लमजुङ एफसी–माई अरबको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न नेपाली फुटबल टोलीहरूको सहभागिता रहेको थियो। तीन सातासम्म चलेको प्रतियोगितामा प्रतिस्पर्धात्मक खेल, उत्कृष्ट प्रदर्शन र खेलाडीहरूको खेलभावनाले दर्शकलाई आकर्षित गरेको थियो।
खुलातर्फ फाइनलमा नखिल गोर्खा एफसीले मेची महाकाली एफसीलाई ५–१ गोलले पराजित गर्दै उपाधि जित्न सफल भयो। विजेता नखिल गोर्खा एफसीले ९ हजार दिराम पुरस्कार प्राप्त गर्दा उपविजेता मेची महाकाली एफसीले ४ हजार दिराम प्राप्त गर्यो।
सेमिफाइनलमा पुगेका ग्रीन सिटी इलाम एफसी र राइजिङ स्टार एफसीले जनही ७५० दिराम प्राप्त गरे।
व्यक्तिगत पुरस्कारतर्फ नखिल गोर्खा एफसीका सुदिल राई १० गोलसहित सर्वाधिक गोलकर्ता घोषित भए। सोही टोलीका अशोक रेग्मी उत्कृष्ट गोलकिपर र निर कुमार राई उत्कृष्ट खेलाडी बने। मेची महाकाली एफसीका टिका थापा मगर उत्कृष्ट अफिसियल घोषित भए।
त्यस्तै भेट्रान्स विधाको फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो। निर्धारित समयमा लमजुङ एफसी र ग्रीन सिटी इलाम एफसीले २–२ गोलको बराबरी खेले। त्यसपछि भएको पेनाल्टी सुटआउटमा लमजुङ एफसीले ३–२ को जित निकाल्दै उपाधि जित्यो।
आयोजक टोली लमजुङ एफसी वारियर्स च्याम्पियन बन्दा ग्रीन सिटी इलाम एफसी उपविजेता बन्यो।
व्यक्तिगत पुरस्कारतर्फ ग्रीन सिटी इलाम एफसीका सुशील लामाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। लमजुङ एफसीका केशव मानन्धर उत्कृष्ट गोलकिपर घोषित भए भने तारा बहादुर गुरुङ उत्कृष्ट खेलाडी बने।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहयोगी संस्था, सहभागी टोली, खेलाडी, व्यवस्थापक, रेफ्री, मेडिकल टोली, स्वयंसेवक, सञ्चारकर्मी तथा सम्पूर्ण नेपाली समुदायप्रति आयोजकले आभार व्यक्त गरेको छ।
आयोजकका अनुसार प्रतियोगिता केवल फुटबल खेलमा सीमित नभई यूएईमा रहेका नेपालीहरूबीच सम्बन्ध बलियो बनाउने र नेपाली फुटबललाई थप अघि बढाउने एउटा महत्वपूर्ण अवसर बनेको छ।
साथै, प्रतियोगिता सफल बनाउन सहयोग र समन्वय गर्ने युएई नेपाली फुटबल संघ (UNFA) तथा नेपाली रेफ्री कमिटी लाई पनि विशेष धन्यवाद व्यक्त गरिएको छ।
आयोजकले आगामी दिनमा पनि यस्ता प्रतियोगितामार्फत नेपाली फुटबलको विकास, नयाँ खेलाडीलाई अवसर र समुदायबीच एकता बढाउने लक्ष्य राखेको जनाएको छ।