रामेछाप। चौथो रामेछाप कप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक दीपशिखा ब्वाइज युनाइटेड क्लब र न्यू स्टार युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
पहिलो सेमिफाइनलमा आयोजक दीपशिखा ब्वाइज युनाइटेड क्लबले रिभरसाइड स्पोर्ट्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। दीपशिखाका लागि करण खड्का र क्रिस मालीले गोल गरे भने रिभरसाइडका कृष्ण आले मगरले एक गोल फर्काए। उक्त खेलमा दीपशिखाका सबिन खड्का प्लेयर अफ द म्याच घोषित भए।
यस्तै, दोस्रो सेमिफाइनलमा न्यू स्टार युवा क्लबले आकाशे ब्वाइज क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। न्यू स्टारका लागि सुनिल तामाङ र योगेश श्रेष्ठले गोल गरे भने आकाशे ब्वाइजका मनोज श्रेष्ठले एक गोल गरे। उक्त खेलमा न्यू स्टारका सुनिल तामाङ प्लेयर अफ द म्याच घोषित भए।
अब उपाधिका लागि आयोजक दीपशिखा ब्वाइज युनाइटेड क्लब र न्यू स्टार युवा क्लबबीच भोलि प्रतिस्पर्धा हुनेछ।