Province 3 फुटबलको अन्यौलता र बाध्यता, दुई दिनको अन्तरालमा तीन खेलाडी बिदेशिए
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको अनिश्चितता देखेपछि अन्तर्राष्ट्रिय र घरेलु फुटबलमा राम्रो गरिरहेका फुटबल खेलाडीहरु सुनिश्चित भविष्यका लागि विदेश पलायन हुन बाध्य भएका छन् । पछिल्ला दुई दिनको अन्तरालमा देश छाड्ने खेलाडीको सूचीमा थप तीन जना थपिएका छन् ।

राष्ट्रिय फुटबल टोलीमा स्थान बनाईसकेका पोखरेली फरवार्ड बिमल राना शुक्रबार मात्र अष्ट्रेलिया प्रस्थान गरेका छन् । घरेलु फुटबलमा अधिकांश सिजन मनाङ मस्र्याङ्दी क्लबका लागि खेलेका बिमलले नेपाली फुटबलमा भविष्य नदेखेपछि विदेश पलायनलाई नै अन्तिम विकल्प रोजेको देखिन्छ ।

त्यस्तै उमेर समूह हुँदै राष्ट्रिय टोलीमा पनि स्थान बनाई सकेका अर्का युवा मिडफिल्डर हेमन्त थापा मगर पनि अष्ट्रेलियातर्फ उडेका छन् । उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । सन् २०१५ मा नेपाल मै सम्पन्न साफ यु–१९ च्याम्पियनसिप उपाधि जितेका हेमन्तले घरमै सम्पन्न सागमा नेपालका लागि ऐतिहासिक स्वर्ण पनि जितेका थिए ।

त्यस्तै गत सिजन मच्छिन्द्रमा आवद्ध रहेका युवा गोलरक्षक सुर्य अधिकारीले पनि फुटबल भन्दा आफ्नो भविष्यलाई महत्वपूर्ण ठान्दै विदेशिएका छन् । उनले मच्छिन्द्रका लागि खेल्दै पछिल्लो सिजन लिग उपाधि पनि जितेका थिए ।

विदेशिने खेलाडीहरुको लर्को बढ्दै

नेपाली फुटबलको बढ्दो अनिश्चितताका कारण पछिल्लो केही महिना यता नेपाल छाड्ने फुटबल खेलाडीहरुको संख्यामा दिनप्रतिदिन बृद्धि हुँदैछ । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) हुने, नहुनेमा अन्यौलता थपिनु, राम्रा घरेलु फुटबल प्रतियोगिताहरुले निरन्तरता नपाउनु पनि खेलाडीहरु पलायन हुनुको एउटा मुख्य कारण बनेको छ ।

हाल नेपालमा रहेका अधिकांश खेलाडीहरु पनि भारतमा हुने स्थानीय फुटबल प्रतियोगिता खेल्न, सिक्किम, आसाम, गुहावाटी, कोलकातातर्फ लागेका छन् र लाग्ने क्रमम जारी छ । त्यहाँ खेल्दा केही हदसम्म कमाई हुने धेरै खेलाडीहरुको बुझाई छ ।

यद्यपि खेलाडीहरुको यो भोगाई र पलायन नेपाली फुटबलका लागि राम्रो खबर भने पक्कै पनि होईन । नेपाली फुटबलको नियमनकारी निकाय सुस्त र प्रभावकारी नबन्दा खेलाडीहरु नै बढी मारमा परेका छन् । यसबारे सम्बन्धित पक्षले गम्भिरताका साथ सोच्नु जरुरी देखिएको छ ।

 

Post Comments