Province 3 वालिङ गोल्डकपको हेलिकप्टर घट्नाका ६ जना पक्राउ
गोलनेपाल

काठमाडौं । गत पौष ३० देखि माघ ७ गतेसम्म चलेको वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलका क्रममा मैदान मै हेलिकप्टर अवतरण भएपछि त्यो घट्नाले चौतर्फी चर्चा पाएको थियो ।

वालिङ खेलमैदानमा आयोजक वालिङ युनाइटेड (रातो) र एभनिर एफसीबीचको खेल चलिरहँदा अकस्मात हेलिकप्टर ल्याण्ड भएपछि खेल प्रभावित भएको थियो ।

आयोजक र स्थानीय प्रशासनलाई जानकारी नदिई, आकस्मिक अवतरण गर्नुपर्ने अवस्था पनि नभएको उक्त हेलिकप्टर अकस्मात खेल चलिरहेको मैदानमा ल्याण्ड भएपछि त्यहाँ उपस्थित केही व्यक्तिले हेलिकप्टरमा सवार पायलट र यात्रुमाथि हातपात गरेका थिए ।

अकस्मात ल्याण्ड गरेपछि हेलिकप्टरका पायलट रनेश डंगोलमाथि पनि हातपात भएको थियो । अहिले सोही घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । जसमा हेलिकप्टर चाटर्ड गर्ने बिनोद गैरे, सुशील गिरी, खिम बहादुर थापा र उज्ज्वल थापा रहेका छन् भने हातपात गर्ने बिष्णु गुरुङ र सुरेश श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार हेलिकप्टर पायल डंगोलले आफूमाथि फोर्स ल्याण्डिङ्ग गर्न दबाब दिने र हातपात गर्नेहरु विरुद्ध दिएको उजुरीपछि नै घट्नामा संलग्न ती ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै घट्नाबारे थप आवश्यक छानबिन हुने र दोषीलाई कारवाही गरिने प्रहरीले जनाएको छ ।

 

Post Comments