Province 4 प्रतिष्ठित त्रिवेणी कपको ३०औं संस्करण पुष १२ देखि
गोलनेपाल

बेंसीशहर । मोफसलका साथै लमजुङको प्रतिष्ठाको रुपमा वार्षिक रुपमा आयोजना हुँदै आएको त्रिवेणी कप राष्ट्रिय फुटबल प्रतियोगिताको ३०औं संस्करण आउँदो पुष १२ गतेदेखि हुने भएको छ । प्रतियोगिता आयोजनाबारे आयोजक त्रिवेणी युवा क्लब, लमजुङले पत्रकार सम्मेलनको आयोजना जानकारी गराएको हो ।

बेंसीशहर स्थित त्रिवेणी खेलमैदानमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष बिनोद गुरुङले बताए । प्रतियोगितामा केही ए डिभिजन क्लबहरुको पनि सहभागिता रहने अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने पनि अध्यक्ष गुरुङले बताए । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुले जनही ५०–५० हजार पाउने आयोजक क्लबकै उपाध्यक्ष तथा फुटबल प्रशिक्षक इन्द्र रानाले जानकारी दिए ।

रानाका अनुसार व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही १५–१५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको पनि बताए । लमजुङको ऐतिहासिक खेलकुद प्रतियोगिताका रुपमा आफ्नो पहिचान बनाएको त्रिवेणी कपलाई सबैले मिलेर सहयोग गरी सफल बनाउन आयोजक आह्वान समेत गरेको छ ।

Post Comments