Province 4 बुद्ध युवा क्लब फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने
गोलनेपाल

बेसीशहर । संघर्षपुर्ण जितका साथ बुद्ध युवा क्लब, भोटेबडार यहाँ जारी ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बुद्ध युवा क्लबले टोखा भगवती क्लब, काठमाडौंलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

त्यसअघि सहजी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने बुद्ध युवा क्लबले टोखा भगवतीमाथि ५–४ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो । खेलमा बुद्ध युवाका गोलरक्षक कृषल मोक्तान म्यान अफ दि म्याच चुनिए ।

बुद्ध युवा क्लबले अब पुष २० गतेज्ञ शनिबार हुने फाइनलमा एपिएफ फुटबल क्लब, काठमाडौंको सामना गर्नेछ । एपिएफले शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीलाई फाइनल प्रवेश गरिसकेको छ ।

त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २० गतेका दिन हुनेछ ।

Post Comments