रामपुर, पाल्पा। चौथो ज्योतिपुञ्ज कप २०८३ अन्तर्गत अन्तिम क्वार्टरफाइनलमा सम्पूर्ण युवा क्लब, सुपौली, रुपन्देहीले होराइजन क्लब, वालिङ, स्याङ्जालाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
रामपुर–७, किसानबारीस्थित खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण युवा क्लबले ३–२ को जित निकाल्यो।
सम्पूर्ण युवा क्लबका गोलरक्षक प्रतीक सुनारले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गरेपछि टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनी खेलको प्लेयर अफ द म्याच घोषित भए।
यस जितसँगै सम्पूर्ण युवा क्लबले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ। क्वार्टरफाइनल चरणका खेलहरू सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ।
श्री ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु. ३,६६,६६६ र उपविजेताले रु. २,२२,२२२ प्राप्त गर्नेछन्।
आयोजक क्लबका अध्यक्ष सुन्दर राना तथा खेल संयोजक अनिल शाही ठकुरीको नेतृत्वमा प्रतियोगिता सञ्चालन भइरहेको छ।
प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे पहिलो सेमिफाइनलमा भरतपुर फुटबल क्लब, भरतपुर, चितवन र सूर्यपुर फुटबल क्लब, कालिका, चितवनबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।