Province 5 चौँथो ज्योतिपुञ्ज कप : सूर्यपुर एफसी सेमिफाइनलमा
गोलनेपाल

रामपुर। चौथो ज्योतिपुञ्ज कप २०८३ अन्तर्गत सूर्यपुर एफसी, कालिका, चितवनले ठकुरी कल्याण समाज, देउराली एकाइ, नवलपरासीलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

रामपुर–७, किसानबारीस्थित खेलमैदानमा सम्पन्न क्वार्टरफाइनल खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। खेलको २२औँ मिनेटमा गणेश हमालले गोल गर्दै ठकुरी समाजलाई अग्रता दिलाएका थिए। त्यसपछि सुमित मल्लबाट भएको आत्मघाती गोलका कारण सूर्यपुरले बराबरी गर्ने अवसर पाएको थियो।

दोस्रो हाफमा सूर्यपुर एफसीले आफ्नो प्रदर्शनमा सुधार गर्दै खेलमा पकड बनायो। पासाङ लामाले ५७औँ मिनेटमा गोल गर्दै सूर्यपुरलाई अग्रता दिलाए भने सुशील राईले ६६औँ मिनेटमा गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण गोल गरेका पासाङ लामा प्लेयर अफ द म्याच घोषित भए। यस जितसँगै सूर्यपुर एफसी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

श्री ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु. ३,६६,६६६ र उपविजेताले रु. २,२२,२२२ प्राप्त गर्नेछन्।

प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे सम्पूर्ण युवा क्लब, सुपौली, रुपन्देही र होराइजन क्लब, वालिङ, स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ। विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।

Post Comments