Province 6
पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४, सुर्खेतस्थित योध्दा फुटबल एकेडेमीमा नेपालका चर्चित एवं सफल पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजु शाक्यले विशेष अवलोकन भ्रमण गर्नुभएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल जगतमा आफ्नो उत्कृष्ट खेलजीवन, उच्च छवि र विशिष्ट परिचय स्थापित गर्न सफल शाक्यको आगमन एकेडेमीका लागि ऐतिहासिक र गौरवको क्षण बनेको छ।
अवलोकनका क्रममा शाक्यले एकेडेमीका गतिविधिलाई नजिकबाट नियाल्दै युवा खेलाडीहरूसँग आफ्ना खेल जीवनका अनुभवहरू साटासाट गर्नुभएको थियो। उहाँले खेलाडीहरूलाई खेल कौशल, अनुशासन र निरन्तरको मिहिनेत नै सफलताको मुख्य चाबी भएको बताउँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो।
शाक्यले प्रदान गर्नुभएको अमूल्य प्रेरणा, सुझाव र हौसलाले एकेडेमीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीमा नयाँ ऊर्जा र उच्च आत्मविश्वास थपेको एकेडेमी प्रशासनले जनाएको छ।
नेपाली फुटबलका दिग्गज व्यक्तित्व शाक्यको यस मार्गदर्शनले कर्णाली क्षेत्रको समग्र फुटबल विकासलाई अझ सशक्त, व्यवस्थित र व्यावसायिक बनाउन ठूलो टेवा पुग्ने विश्वास एकेडेमीले लिएको छ।
यसैबीच, योध्दा फुटबल एकेडेमी परिवारको तर्फबाट राजु शाक्यज्यू प्रति हार्दिक सम्मान र कृतज्ञता प्रकट गर्दै आभार व्यक्त गरिएको छ। साथै, एकेडेमीले कर्णालीमा फुटबलको स्तर उकास्न आगामी दिनहरूमा पनि उहाँबाट निरन्तर साथ, सहयोग र अभिभावकत्वको अपेक्षा राखेको छ।
“सशक्त प्रशिक्षण, अनुशासित खेलाडी र उज्ज्वल भविष्य” भन्ने मूल प्रतिबद्धताका साथ स्थापना भएको योध्दा फुटबल एकेडेमीले स्थानीय स्तरमा प्रतिभावान खेलाडी उत्पादन गर्न निरन्तर काम गर्दै आइरहेको छ।
Post Comments
Related News