South Asia साफ यु–१९ महिला च्याम्पियनसिपमा पाँच टोली
गोलनेपाल

काठमाडौं । यस बर्ष हुन गईरहेको साफ यु–१९ महिला च्याम्पियनसिपको दोस्रो संस्करणमा दक्षिण एसियाका पाँच टोलीहरुले सहभागिता जनाउने भएका छन् ।

यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणमा ६ टोलीहरुले सहभागिता जनाएका थिए । यसपटक भने प्रतियोगितामा माल्दिभ्स र पाकिस्तानले सहभागिता जनाएका छैनन् ।

त्यस्तै गत संस्करण सहभागि हुन नसकेको श्रीलंकाले यस संस्करणदेखि सहभागिता जनाउने पक्का भएको छ । आउँदो डिसेम्बर ११ देखि २२ तारीखसम्म हुन गईरहेको प्रतियोगिताको दोस्रो संस्करण बंगलादेशको राजधानी ढाकामा हुनेछ ।

खेलतालिकामा पनि सार्वजनिक

साफले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । ढाका स्थित बिर शेरेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा हुने प्रतियोगिताको उद्घाटन खेलमा डिसेम्बर ११ तारीखका दिन भुटान र श्रीलंका भिड्ने छन् ।

त्यस्तै सोही दिन हुने दोस्रो खेलमा गत संस्करणका दुई फाइनलिस्ट आयोजक बंगलादेश र नेपाल आमने सामने हुनेछन् । स्मरण रहोस, गत संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई १–० ले हराउँदै च्याम्पियन बनेको थियो ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा भिड्ने छन् । फाइनल खेल डिसेम्बर २२ तारीखका दिन हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल सहित भारत, श्रीलंका र भुटानले सहभागिता जनाउने तय भएको छ ।

Post Comments