South Asia सुखद बनेन आई लिगमा अन्जनको डेब्यु
गोलनेपाल

काठमाडौं । गत साता मात्र आई लिग खेल्न भारततर्फ प्रस्थान गरेका नेपालका चर्चित फरवार्ड अन्जन बिष्टले आइतबार आई लिगमा डेब्यु गरे पनि त्यो डेब्यु सुखद बन्न सकेन ।

यस सिजन लिगमा संघर्ष गरिरहेको केन्क्रे फुटबल क्लबमा आवद्ध अन्जनले आइतबार गोकुलम केरला विरुद्ध डेब्यु गरे । तर केन्क्रे सो खेलमा १–० ले पराजित हुन पुग्यो ।

केरलाको घरेलु मैदानमा सम्पन्न खेलको २१औं मिनटमा सर्जियो मेन्डिगुचियाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको दोस्रो हाफतर्फ ५६औं मिनटमा केरलाका राहुल राजुले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली दश खेलाडीमा खुम्चिएको थियो । तर, केन्क्रेले त्यसको फाईदा उठाउन सकेन ।

यो नतिजापछि १४ खेलबाट १३ अंक मात्र जोडेको केन्क्रे लिगतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेर रेलिगेशन क्षेत्र मै संघर्षरत छ । उता जित हात पारेको केरला भने १३ खेलबाट २४ अंकका साथ तेस्रो स्थानमा छ ।

केन्क्रेले आफ्नो आगामी खेल बुधबार लिगलिडर राउण्डग्लास पञ्जाब एफसीसँग खेल्नेछ । स्मरण रहोस, पञ्जाबका अर्का नेपाली स्टार किरन चेम्जोङ आवद्ध छन् ।

Post Comments