ANFA झुम्का एफसी ‘बी’ सेमिफाइनलमा
गोलनेपाल

इटहरी । प्रथम झुम्का च्यालेन्ज कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक टोली झुम्का एफसी ‘बी’ ले तालतलिया फुटबल क्लब, इटहरीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

झुम्का एफसीको खेलमैदानमा सम्पन्न खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा भने घरेलु टोली झुम्का एफसी ‘बी’ ले आक्रामक खेल प्रस्तुत गर्दै तीन गोल गर्न सफल भयो। दोस्रो हाफको सुरुवाती मिनेटमै रोदन राईले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै झुम्कालाई १–० को अग्रता दिलाए।

त्यसपछि खेलको 60औँ मिनेटमा अनिश राज धामीले उत्कृष्ट फिनिस गर्दै झुम्काको अग्रता २–० मा पुर्याए। त्यसको केही समयपछि सन्दीप राईले गोलरक्षक अगाडि बढेको मौका छोप्दै करिब ४० यार्ड टाढाबाट गरेको शानदार प्रहार गोलमा परिणत भएपछि झुम्का एफसी ‘बी’ ले ३–० को अग्रता बनायो।

खेलको ७६औँ मिनेटमा तालतलिया फुटबल क्लबले पेनाल्टी पायो। तालतलियाका कप्तान सम्बे घिमिरेले पेनाल्टीमा कुनै गल्ती नगरी गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।

त्यसपछि थप गोल हुन नसकेपछि तालतलिया फुटबल क्लब, इटहरीलाई ३–१ गोल अन्तरले पराजित गर्दै झुम्का एफसी ‘बी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका झुम्का एफसी ‘बी’ का रोदन राई प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत भोलि राजबास युथ क्लब र झुम्का एफसी ‘ए’ बीच खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल भने १४ गते हुनेछ।

Post Comments