ANFA मनाङको लगातार दोस्रो जित, शिर्ष चारमा पुलिस बलियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित हात पार्ने क्रममा पुछारमा संघर्षरत टोली एफसी खुमलटारमाथि १–० को जित निकालेको छ ।

दशरथ रंगशालामा भएको दिनको तेस्रो खेलमा मनाङका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा रोशन राना मगरले गरेको एक मात्र गोल आठपल्टको लिग च्याम्पियनलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितसँगै २३ खेलबाट ३१ अंक जोडेको मनाङ पाँचौं स्थानमा उक्लेको छ । र शिर्ष तीनको होडमा फर्किएको छ । उता पराजित खुमलटार भने २४ अंकका साथ पुछार मै छ र क्लबमाथि रेलिगेशनको दबाब थप थपिएको छ ।

शिर्ष चारमा पुलिसको पकड बलियो

त्यस्तै दशरथ रंगशाला मै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले दशौं जित हात पार्ने क्रममा एनआरटीलाई १–० ले हरायो । ७६औं मिनटमा मोसेस ट्वुमले गरेको उक मात्र गोल पुलिसलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।

यो जितपछि २३ खेलबाट ३४ अंक जोडेको पुलिस चौथो स्थानमा यथावत छ । उता पराजित एनआरटी भने २९ अंकका साथ लिगतालिकाको दशौं स्थानमा छ ।

त्यसैगरी च्यासल स्टेडियममा भएको अर्को खेलमा रेलिगेशन क्षेत्रको टोली फ्रेण्डस क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो नतिजापछि २३ खेलबाट २५ अंक जोडेको फ्रेण्डस रेलिगेशन क्षेत्रको १३औं स्थान मै छ । तर पनि फ्रेण्डसको रेलिगेशनबाट बाहिरिने सम्भावना पनि कायम छ । उता शेर्पा भने ३० अंकका साथ सातौं स्थानमा छ ।

Post Comments